नियम २२क
सामुदायिक विद्यालयको व्यवस्थापन जिम्मा लिन निवेदन दिनु पर्ने
(१) कुनै सामुदायिक विद्यालयको व्यवस्थापन जिम्मा लिन चाहने स्थानीय निकाय वा व्यवस्थापन समितिले देहायका कागजात संलग्न गरी अनुसूची–११क. बमोजिमको ढाँचामा जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनु पर्नेछः–
(क) सामुदायिक विद्यालय व्यवस्थापन सुधार सम्बन्धी कम्तीमा तीन वर्षे कार्य योजना,
(ख) व्यवस्थापन समितिले जिम्मा लिने भए विद्यालयको व्यवस्थापन जिम्मा लिने सम्बन्धमा व्यवस्थापन समितिको निर्णय,
(ग) स्थानीय निकायले जिम्मा लिने भए सम्बन्धित व्यवस्थापन समितिको सहमति सहित सम्बन्धित स्थानीय निकायको सो प्रयोजनको लागि भएको निर्णय ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा जिल्ला शिक्षा अधिकारीले निवेदकको माग बमोजिम विद्यालयको व्यवस्थापन जिम्मा दिन हुने वा नहुने सम्बन्धमा आवश्यकता अनुसार आफैं वा आफ्नो मातहतको कुनै अधिकृतद्वारा विद्यालयको स्थलगत निरीक्षण गर्नु वा गराउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम प्राप्त भएको निवेदन सहितको कागजात तथा उपनियम (२) बमोजिम गरिएको स्थलगत निरीक्षण प्रतिवेदन जाँचबुझ गर्दा सामुदायिक विद्यालयको व्यवस्थापन जिम्मा दिन मनासिव देखिएमा जिल्ला शिक्षा अधिकारीले निवेदकलाई त्यस्तो विद्यालयको व्यवस्थापन जिम्मा दिनेछ ।
(४) उपनियम (३) बमोजिम सामुदायिक विद्यालयको व्यवस्थापन जिम्मा दिंदा जिल्ला शिक्षा अधिकारीले व्यवस्थापन जिम्मा लिने स्थानीय निकाय वा व्यवस्थापन समितिसँग विद्यालय सञ्चालन सम्बन्धमा सम्झौता गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको सम्झौतामा अन्य कुराको अतिरिक्त विद्यालयको व्यवस्थापनको जिम्मेवारी, विद्यालयको सम्पतिको संरक्षण, शैक्षिक कार्यक्रम सञ्चालन गर्दा पालना गर्नु पर्ने शर्तहरु तथा सम्झौता अन्त्य गर्न सकिने आधार उल्लेख गर्नु पर्नेछ ।
(६) जिल्ला शिक्षा अधिकारीले उपनियम (३) बमोजिम सामुदायिक विद्यालयको व्यवस्थापन जिम्मा दिएको जानकारी अभिलेखको लागि निर्देशनालय, विभाग र शिक्षक कितावखानालाई दिनु पर्नेछ ।
२२ख…………..